काठमाडौं - आज देशभर मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।
राति कोशी प्रदेशका केही स्थानमा, बागमतीको पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।

