Harsamaya
सिन्धुपाल्चोकमा असोज ९ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
नेपाल मौसम विज्ञान विभाग ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा असोज ९ गतेसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जिल्लाका सबै स्थानमा वर्षा हुने आकलन गरिएको प्रशासनले जनाएको छ।

भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकाले प्रशासनले अत्यावश्यकबाहेक टाढाको तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

प्रशासनले जिल्लाका स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवाला निकायलाई समुदायलाई सुसूचित गरी प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्जाभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।

त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना तथा चेतावनीअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्वयंसेवकलाई आग्रह गरिएको छ।

अचानक बाढी आउनसक्ने खोला तथा खोल्सानजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र नदी तथा खोला किनारका बासिन्दालाई विशेष चनाखो रहन प्रशासनले अनुरोध गरेको छ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीलाई कार्यालय नछाड्न र बिदामा नबस्नसमेत भनिएको छ। स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा विपद् सम्पर्क व्यक्ति र कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमै रहेर समुदायसँग सहकार्य गर्न आग्रह गरिएको छ।

विपद्सम्बन्धी सम्पर्क नम्बर:
मौसम विज्ञान विभाग : ११५५
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र : १२३४
नेपाल प्रहरी : १००
सशस्त्र प्रहरी : १११४
प्रमुख जिल्ला अधिकारी : ९८५१२५७७७७
सहायक प्रमुख जिल्ला अधिकारी : ९८५१२४३०८४
प्रहरी उपरीक्षक : ९८५१२५५५५५
सशस्त्र प्रहरी उपरीक्षक : ९८५१२७२११२

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update