काठमाडौं - त्रिपुरेश्वरमा सार्वजनिक बसभित्र भएको आगजनीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ ।
मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगो लगाइएको थियो । आगलागीमा चालक लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो । कीर्तिपुर अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको अस्पतालकी निर्देशक निजिना ताम्राकारले जानकारी दिइन् ।
घटनाको केही मिनेटअघि राति १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेपछि आगजनीको घटनालाई लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । विवादपछि बसमा कसरी आगो लग्यो र घटनामा को–को संलग्न थिए भन्ने विषय अनुसन्धानको दायरामा छ ।
२५ वर्षीय लामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका स्थायी बासिन्दा हुन् । पछिल्लो समय कोटेश्वरमा बस्दै आएका उनी करिब ६–७ वर्षदेखि सवारी चलाउँदै आएका थिए । ऋद्धिसिद्धि यातायातमा भने उनी तीन–चार महिनाअघिमात्र जोडिएका थिए ।
प्रहरीले आगजनीको वास्तविक कारण र घटनाको पृष्ठभूमि खुलाउन अनुसन्धान गरिरहेको जनाएको छ।

