Harsamaya
दुवाकोटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

भक्तपुर - चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब ३ बजे केएमसी अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलले सिटी ब्याङ्केट नजिक पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा दिउँसो ३ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई सडकमा रोकिराखेको बा २१ च ५६७४ नम्बरको कारमा समेत ठोक्किएको थियो । दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको छ ।

प्रहरीले मोटरसाइकल चालक जुम्लाको हिमा गाउँपालिका–५ घर भई हाल सृजनानगर बस्ने २० वर्षीय दिपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update