काठमाडौं - रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर व्यवस्थापन गरिएको हो।
रसुवा, धादिङ र नुवाकोटका विभिन्न स्थानबाट फेला परेका शवलाई काठमाडौं ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण तथा डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरेपछि शवलाई सुरक्षित रूपमा गाडिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रत्येक शवबाट डिएनए परीक्षणका लागि आवश्यक नमुना सङ्कलन गरी सुरक्षित राखिएको छ। भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमुना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताए ।
शव व्यवस्थापनका क्रममा विशेष प्रकारको हावा नछिर्ने झोला प्रयोग गरी प्रत्येक शवमा ट्याग नम्बर राखिएको छ। सोही ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको प्रहरीले जनाएको छ।
बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शव पहिचान तथा डिएनए परीक्षणका लागि काठमाडौं ल्याइएको हो। पहिचान हुन बाँकी शवको डिएनए नमुना सुरक्षित राखी आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

