पाल्पा - पाल्पामा यात्रुवाहक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
तानसेन नगरपालिका–८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको थियो। उपचारका क्रममा खाम्चाको मृत्यु भएको हो।
दुर्घटनामा गाडी चालक पूर्वखोला गाउँपालिका–१ का करिब २९ वर्षीय नरबहादुर राना, सोही ठाउँका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला–४ घर भई हाल तानसेन–४ भगवतीटोल बस्ने २८ वर्षीया मेनुका भन्ने मनकुमारी सारु, उनकी ७ वर्षीया छोरी साहिरस सारु र अनसरा खाम्चाकी ५ वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन्।
घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

