Harsamaya
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली बलियो बन्दै, नेपालमा वर्षा गराउन सक्ने
नेपाल मौसम विज्ञान विभाग ।

काठमाडौं - बंगालको खाडीको पूर्वी भू–भाग अर्थात् उत्तर अन्डमान सागर र आसपास विकसित भएको न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिएको छ।

मौसम तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांकको विश्लेषणका आधारमा उक्त प्रणाली असोज ७ गते अर्थात् सेप्टेम्बर २३ आसपास ‘डिप्रेसन’ (न्यून चापीय क्षेत्र) का रूपमा थप बलियो हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार प्रणाली दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने प्रारम्भिक प्रक्षेपण छ। उक्त प्रणालीका कारण नेपालमा समेत वर्षा गराउने सम्भावना रहे पनि वर्षाको जोखिमको स्तर र हुन सक्ने सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ।

नेपाल मौसम विज्ञान विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकता अनुसार थप सूचना अद्यावधिक गर्दै जाने विभागले जनाएको छ।

विभागले मौसमसम्बन्धी आधिकारिक तथा पछिल्लो जानकारीका लागि आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई आधार बनाउन आग्रह गरेको छ। थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update