Harsamaya
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

धनुषा - धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ स्थित स्वास्थ्य निर्देशनालय अगाडि जनकपुर–ढल्केबर सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहीबार भएको दुर्घटनामा बा.प्र. ०२–०६६ प ५९४२ नम्बरको बुलेट मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय सुमन यादवको मृत्यु भएको हो। सुरुमा उनको नामथर तथा ठेगाना खुल्न नसकेकोमा खल्तीमा रहेको सवारी चालक अनुमतिपत्रको नगदी रसिदका आधारमा सुमन यादव रहेको खुलेको प्रहरीले जनाएको छ।

जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ज ८ प ३५०९ नम्बरको ग्लामर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बुलेट चालक यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलको पछाडि सवार सिरहाको नरहा गाउँपालिका–५ बस्ने अन्दाजी २५ वर्षीय सुभाष यादव घाइते भएका छन्।

त्यस्तै, ग्लामर मोटरसाइकलका चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका–६ बस्ने अन्दाजी ३१ वर्षीय मनोजकुमार यादव पनि घाइते भएका छन्।

घाइते दुवै जनाको जानकी मेडिकल कलेज, रमदैया, धनुषामा उपचार भइरहेको छ।  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २१:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update