काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित परिस्थितिबारे खोज, उद्धार, राहत वितरण तथा घाइतेको उपचारलगायतका विषयमा विस्तृत जानकारी लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले छलफल सुरु गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन् ।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
छलफलमा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन, घाइतेको उपचार, विस्थापितको अवस्था तथा आगामी कार्ययोजनाबारे सुरक्षा निकायका प्रमुखबाट प्रधानमन्त्रीले जानकारी लिने र आवश्यक निर्देशन दिने बताइएको छ।
बाढीपछि ठूलो जनधनको क्षति भएको रसुवा तथा आसपासका जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली निरन्तर खोज तथा उद्धार र राहत व्यवस्थापनमा परिचालित छन्।
प्रधानमन्त्रीसँगको आजको छलफललाई जारी उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

