Harsamaya
माइक्रोबस ट्रकमा ठोक्किदा एक जनाको मृत्यु, १९ घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

नवलपरासी -  बर्दघाट नगरपालिका–४ मा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

बिहान करिब ३ः३० बजे भे.१ ज.१६३४ नम्बरको माइक्रोबसको ब्रेक फेल भई सडकमा रोकिराखेको बा.प्र.०१–००६ ख.३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित २० जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी लगिएको थियो। सामान्य उपचारपछि केही घाइतेलाई थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।

घाइतेमध्ये सल्यानका अन्दाजी २७ वर्षीय गणेश बुढालाई जिल्ला अस्पताल परासी पठाइएकोमा बिहान ४ः२४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइतेमध्ये दाङका ३३ वर्षीय निशान्त बि.क., दैलेखका २३ वर्षीय निराजन खवास, बर्दियाकी ३४ वर्षीया मिना आले, मुगुका ३१ वर्षीय जलनाथ योगी, कैलालीका २१ वर्षीय मनोज बोहोरा र सल्यानका १९ वर्षीय मनिष बि.क.को अवस्था मध्यम रहेको छ। उनीहरूलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पठाइएको छ।

बर्दियाका ३५ वर्षीय दिलिप पाण्डे, मुगुका २९ वर्षीय अंक दमाई र ३२ वर्षीय दिनेश साउदको अवस्था सामान्य रहेको र उनीहरूको बर्दघाट नगर अस्पताल, चिसापानीमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update