काठमाडौं - हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गर्दै आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
जन्माष्टमीका अवसरमा देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। मन्दिरमा पूजा आराधना, भजनकीर्तन, प्रवचन तथा विभिन्न धार्मिक कार्यक्रम भइरहेका छन्। धेरै भक्तजन व्रत बसेर रातभर जाग्राम बस्ने गर्दछन्।
भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय, अत्याचार र दानवी प्रवृत्तिको अन्त्य गर्दै सत्य र सत्कर्मको बाटोमा अघि बढ्न मानव समुदायलाई प्रेरणा दिनुभएको धार्मिक मान्यता छ।
कुरुक्षेत्रमा अर्जुनलाई श्रीकृष्णले दिनुभएको उपदेशलाई ‘श्रीमद्भागवतगीता’का रूपमा लिइन्छ। गीतालाई हिन्दू धर्मको महत्वपूर्ण पवित्र ग्रन्थ मानिन्छ।
आज ललितपुरको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लागेको छ। काठमाडौँको नवतनधामसहित राजधानीका विभिन्न कृष्णमन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ। विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्दैछन्।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

