Harsamaya
११४ नेपाली तातोपानी नाकाबाट स्वदेश फर्किए

सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी बाढीका कारण चीनको केरुङ क्षेत्रमा फसेका ११४ नेपाली नागरिक तातोपानी नाका हुँदै आज स्वदेश फर्किएका छन्।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपालीलाई चिनियाँ पक्षले राहदानी नम्बरलगायत विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो।

बाढीका कारण रसुवागढी नाका र पासाङल्हामु राजमार्ग अवरुद्ध भएपछि केरुङ पुगेका नेपाली उतै अलपत्र परेका थिए। उनीहरूमध्ये अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका नागरिक रहेका छन्।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार अस्थायी पास लिएर केरुङ पुगेका नेपालीलाई चीनले तातोपानी नाकासम्म ल्याउन सहजीकरण गरेको हो। सामान लिन, लोड–अनलोड गर्न तथा होटल र रेस्टुरेन्टमा काम गर्न रसुवागढी नाकाबाट केरुङ जाने नेपालीले भिसा लिनुपर्ने व्यवस्था छैन।

अस्थायी अनुमतिपत्र लिएर चीनको तिब्बततर्फ जाने नेपालीलाई ३० किलोमिटरभित्रसम्म मात्र आवतजावत गर्न पाउने व्यवस्था रहेको छ। राहदानी र भिसा नभएका तथा बाढीपछि तिब्बतमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन चीन सरकारले सहयोग गरिरहेको महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बताए । 

महावाणिज्यदूत निरौलाका अनुसार केरुङ क्षेत्रमा अझै करिब १ हजार ६ सय नेपाली रहेको अनुमान छ। तीमध्ये नेपाल फर्किन चाहने ८ सय जनाले नाम टिपाइसकेका छन्। उनीहरू अधिकांश सामान लिन, किनमेल गर्न तथा लोड–अनलोडको कामका लागि केरुङ पुगेका थिए।

तातोपानी भन्सार नाका हाल बन्द रहे पनि पर्यटकको आवतजावतका लागि नाका खुला रहेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । 

भोटेकोशी बाढीपछि चीनतर्फ सुरक्षित रहेका नेपालीलाई क्रमशः स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ। यता, बाढीपछि सिन्धुपाल्चोकका २३९ जना अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजीमा आफन्त तथा सम्बन्धित निकाय परिचालित रहेको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update