स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ
सुदूरपश्चिम - स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थित घरेलु चोकबाट भारतको पञ्जाब, पटियाला बस्ने १८ वर्षीय अर्मिन्द्र सिंहलाई पक्राउ गरिएको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेको भेटिएपछि खानतलासी गर्दा निजको साथबाट भारतीय ५०० दरका नोट एक हजार थान बरामद गरिएको बताए ।
बरामद रकमसहित सिंहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३ १८:५३
प्रतिक्रिया दिनुहोस्

