काठमाडौं - लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको जनाएको छ।
बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। रसुवामा उत्तरगया गाउँपालिका–५ पहारेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड तथा मुख्य राजमार्ग नै पूर्णरूपमा अवरुद्ध छन्।
नुवाकोटमा टोखा–छहरे सडकखण्डको शिवपुरी क्षेत्रमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति सवारी सञ्चालनमा रोक लगाइएको छ। पासाङल्हामु सडकखण्डको वेत्रावती क्षेत्रमा तथा बिदुर–ल्ह्याङ सडकखण्डमा समेत पहिरोका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
धादिङमा पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर तथा गजुरी गाउँपालिका–२ प्वाँभीरमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध छ। बेनीघाट रोराङ–१० र ज्वालामुखी–२ कमेरेभीर क्षेत्रमा भने सडक एकतर्फी सञ्चालनमा रहेको छ।
यसैगरी गण्डकी प्रदेशअन्तर्गत लमजुङमा बेँसीसहर–मनाङ सडकखण्ड, कर्णाली प्रदेशको मुगुमा छायानाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा मुगु–गमगढी सडक तथा सुदूरपश्चिमको बैतडीमा दशरथचन्द नगरपालिका क्षेत्रमा झुलाघाट सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।
प्रहरीले सडकको अवस्था तथा मौसम हेरेर मात्र यात्रा गर्न र अवरुद्ध सडक खुलाउने कार्यमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

