Harsamaya
बाढीले मुख्य सडक भत्काएपछि धादिङ पुग्न चार वैकल्पिक रुट 
जिल्ला प्रशासन कार्यालय ।

धादिङ - भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि धादिङ सदरमुकामलाई विभिन्न गन्तव्यसँग जोड्न चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले धादिङबेँशीबाट विभिन्न स्थानतर्फ जाने वैकल्पिक मार्गलाई तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

सबैभन्दा प्रभावकारी मानिएको धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडक करिब ३६ किलोमिटर लामो छ। सडकका केही खण्ड पक्की भए पनि केही स्तरोन्नतिको क्रममा छन्। कोशीखोलामा बेलिब्रिज राख्नुका साथै केही स्थानमा तत्काल स्तरोन्नति गर्नुपर्ने देखिएको छ।

समितिले धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार, परेवाटार–आदमटार–बेलिनटार–मासटार तथा धादिङबेँशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने मार्गलाई समेत अस्थायी रुट तोकेको छ।

वैकल्पिक सडकलाई तत्काल सवारी सञ्चालनयोग्य बनाउन सम्बन्धित सरकारी निकायलाई सडक स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारी दिइएको छ।

धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई, परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको सडक डिभिजन नुवाकोटलाई र धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार सडकको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई दिइएको छ।

बाढीले धादिङबेँशीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुर्‍याएपछि मुख्य मार्गको विकल्पका रूपमा यी सडक प्रयोग गर्ने र सडक सञ्जाललाई तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update