सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाले ७३ बेपत्ता र एक मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
भदौ १५ गते बसेको आकस्मिक गाउँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउने निर्णय गरेको हो। राहत रकम बेपत्ता तथा मृतकका संरक्षक, अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खातामार्फत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
सडक तथा पुल अवरुद्ध भई जोखिममा परेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यकताअनुसार हेलिकोप्टरसहित हवाई साधन प्रयोग गरिने भएको छ। उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक दाहालका अनुसार प्रभावित तथा सम्पर्कविहीन नागरिकको विवरण वडा कार्यालयमार्फत संकलन गरिएको छ। पीडित परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय भइरहेको छ।
खोजी, उद्धार, उपचार, सुरक्षित स्थानान्तरण र पुनःस्थापनामा लाग्ने खर्चसमेत विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय गरिएको छ।
गाउँपालिकाले बाढीपीडितलाई सहयोग गर्न इच्छुक दाता, संघ–संस्था तथा व्यक्तिलाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको छ। अध्यक्ष पासाङ नुर्बु शेर्पाले प्रभावित नागरिकलाई आवश्यक सहयोग जुटाउन गाउँपालिका निरन्तर सक्रिय रहेको बताए।

