सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको भोटेकोसी नदीमा बाढी आएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएका सूचना गलत रहेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नदीमा अहिले कुनै किसिमको बाढी नआएको र नदी सामान्य अवस्थामा रहेको जनाएको छ । बाढी आएको भनी फैलाईएको अफवाहमा कुनै सत्यता नरहेको प्रशासनले जारी गरेको सूचनामा छ ।
चिनियाँ अधिकारीहरूले समेत नदीमा पानीको सतह सामान्यभन्दा केही बढेको जानकारी दिएका छन्।
तर नदीमा बाढी आएको भन्दै अत्यधिक त्रास फैलाउने र आतंकित बनाउने खालका सूचना प्रसारित भएपछि स्थानीयमा अनावश्यक डर सिर्जना भएको छ।
प्रशासनले वास्तविक अवस्थाबारे आधिकारिक सूचना लिएर मात्रै समाचार तथा जानकारी सम्प्रेषण गर्न आग्रह गरेका छन्। गलत तथा अतिरञ्जित सूचना फैलाउँदा विपद्को अवस्थामा झन् त्रास र भ्रम सिर्जना हुन सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत सचेत रहन आग्रह गरिएको छ।
हाल भोटेकोसी नदीको पानीको सतहमा सामान्य वृद्धि देखिए पनि ठूलो बाढीको अवस्था नरहेको जनाइएको छ।

