खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना.५ त ४५५५ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्र्याक्टरमा सवार तथा मेला हेर्न जाँदै गरेका मानिस दुर्घटनामा परेका हुन्।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का १४ वर्षीय दिवश परियारको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये १९ जनालाई थप उपचारका लागि काठमाडौँस्थित केएमसी अस्पताल पठाइएको छ। अन्य १४ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
काठमाडौँ पठाइएका घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ भने सविन तिरुवा, योनिस बिक र बिमला बिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्र्याक्टर घटनास्थलमै रहेको र उठाउने पहल भइरहेको छ। ट्र्याक्टर चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पा जिल्ला प्रहरी कार्यालय खोटाङको नियन्त्रणमा छन्।


