Harsamaya
मुख्य राजमार्गका पाँच सडकखण्ड अवरुद्ध
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभागका अनुसार इलाम, काभ्रे, मकवानपुर, रसुवा, नुवाकोट र रुकुम पश्चिमका सडकखण्डमा बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएको हो।

इलामको राजदुवाली–झापा हुँदै ताप्लेजुङ सडकखण्ड मेची राजमार्गअन्तर्गत पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेको धुलिखेल–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा पनि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, मकवानपुरको हेटौँडा–दिगन–बागमती–ललितपुर सडकखण्डअन्तर्गत कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७, छहरेमा पहिरोको सम्भावनाका कारण टोखा–छहरे सडकखण्डमा राति सवारी सञ्चालन रोकिएको छ। यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, रिजिगैड खोलामा बाढी आएपछि जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ।

वर्षा जारी रहेकाले अन्य सडकखण्डमा समेत बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै यात्रुलाई सतर्कता अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update