काठमाडौं - जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–३ स्थायी घर भएका बिमल राजवंशी रहेका छन्।
राजवंशीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो।
रेड नोटिस जारी भएपछि एनसीबी काठमाडौं र एनसीबी मस्कट, ओमनको संयुक्त पहलमा राजवंशीलाई ओमनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राजवंशीलाई एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले कतार एयरवेजमार्फत नेपाल ल्याएको हो। उनी शनिबार बेलुका ४ः२९ बजे नेपाल आइपुगेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।
राजवंशीमाथि जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

