Harsamaya
भारतबाट अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली पक्राउ
अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई जना पक्राउ ।

रौतहट - भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ।

भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको अगरवा क्षेत्रमा खटिएको एसएसबीको ७१औँ वाहिनीको टोलीले शुक्रबार साँझ १९ बोरा युरिया मल, ५० किलो खैनी र चारवटा साइकलसहित दुई नेपालीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका क्षेत्रका १८ वर्षीय आदित्य नारायण मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन्। दुवै नानसागरा घाटका बासिन्दा रहेको एसएसबीले जनाएको छ।

एसएसबीका अनुसार उनीहरू सीमा स्तम्भ नम्बर ३६० बाट करिब २०० मिटर भारततर्फ नेपालमा सामान लैजाने क्रममा पक्राउ परेका हुन्। बरामद १९ बोरा युरिया मलमा ४५ किलोका दरले कुल ८५५ किलो मल रहेको जनाइएको छ।

यसैगरी, सोही सीमाक्षेत्रको बडहरवा बोर्डरबाट नेपालतर्फ लैजान लागिएको २४ बोरा युरिया मल, एउटा मोटरसाइकल र चारवटा साइकल समेत एसएसबीले बरामद गरेको छ।

सुरक्षाकर्मीलाई देखेपछि सामान छाडेर भाग्न खोजेका तस्करमध्ये भारतीय नागरिक बीजबनी गाउँका गोपाल रायलाई एसएसबीले पीछा गरी पक्राउ गरेको जनाएको छ।

सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनापछि एसएसबीले निगरानी तथा गस्ती बढाएको जनाएको छ। भारतबाट नेपालतर्फ युरिया मललगायत सामग्री अवैध रूपमा भित्र्याउने क्रम बढेपछि सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको एसएसबीको भनाइ छ।

पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय, मोतिहारीमा बुझाइएको एसएसबीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update