Harsamaya
फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्ने दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

गोरखा - गोरखामा फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जनासहित लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट ४३ वर्षीय प्रेम सुनार पक्राउ परेका हुन्। भीमसेन थापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका सुनारले आफ्नो ‘Prem Sunar’ नामको फेसबुक खातामार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा लाइसेन्स नभएको एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

अनुसन्धानका क्रममा उक्त बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको रहेको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।

घटनाबारे दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update