Harsamaya
भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म
मुख्यमन्त्री किरण थापा मगर ।

मकवानपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलबाट राजनीतिक यात्रा सुरु गरेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् । बिहीबार बागमती प्रदेश सरकारको सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थापा मगरको राजनीतिक यात्रा वडाध्यक्षदेखि प्रदेशसभा सदस्य, मन्त्री हुँदै मुख्यमन्त्रीसम्म आइपुगेको हो।

विसं २०३३ भदौ १४ गते भक्तपुरको सिपाडोलमा पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगरका सन्तानका रूपमा जन्मिएका उनले प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । सानैदेखि सामाजिक गतिविधिमा रुचि राख्दै आएका थापा मगर विसं २०४७ देखि निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएको बताउँछन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उनी जिल्ला कमिटी उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाले । पार्टी संगठनसँगै स्थानीय तहबाट जनप्रतिनिधिको भूमिका निर्वाह गरेपछि उनको राजनीतिक परिचय थप स्थापित हुँदै गएको हो।

विसं २०७४ मा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका थापा मगरले स्थानीय तहमा सामाजिक विकास समितिको संयोजकको जिम्मेवारीसमेत सम्हाले । वडाध्यक्षका रूपमा काम गर्दा उनले स्थानीय विकाससँगै सामाजिक सेवाका गतिविधिलाई पनि प्राथमिकता दिएका थिए । 

त्यसपछि विसं २०७९ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । प्रदेशसभा सदस्य बनेसँगै उनी बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीमा पुगे । विसं २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म उहाँले दुईपटक बागमती प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा काम गरे । 

सामाजिक सेवामा लामो अनुभव
थापा मगरको राजनीतिक यात्रासँगै सामाजिक क्षेत्रमा पनि लामो संलग्नता छ। केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी उनले सम्हाले।

नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापतिका रूपमा तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापतिका रूपमा दुई कार्यकाल काम गरेका उनी रेडक्रसको विशिष्ट सदस्यसमेत हुन् । 

खेलकुद र व्यावसायिक क्षेत्रमा पनि उनको संलग्नता रहेको छ। नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य सङ्घको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबको संरक्षकका रूपमा उनले काम गरेका छन् । सिपाडोल क्षेत्र परोपकार समाज र ‘आफ्नो घर आश्रम’सँग पनि उनी । जोडिएका छन् । 

निजी व्यवसायबाट रोजगारी र सामाजिक योगदान
राजनीति र समाजसेवासँगै निजी व्यवसायमा समेत संलग्न थापा मगरका अनुसार उनका व्यवसायबाट ५०० भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन्। युवालाई स्वरोजगार बनाउन तालिम, सहजीकरण र लगानी प्रवर्द्धनमा आफू सक्रिय रहेको उनको भनाइ छ।

वडाध्यक्षका रूपमा निर्वाचित हुँदा प्राप्त हुने सुविधा नलिएको उनी बताउँछन् । सो सुविधाबाट बचत भएको करिब रु १५ लाखबाट अक्षयकोष स्थापना गरिएको र अहिले उक्त कोषमा करिब रु ४० लाख पुगेको उनको दाबी छ।

विपद् र महामारीमा पनि सक्रिय
विसं २०७२ को विनाशकारी भूकम्प, २०७५ को हनुमन्ते बाढीलगायतका विपद्का बेला उद्धार तथा राहतमा थापा मगर सक्रिय रहेका थिए । कोरोना महामारीका समयमा पनि सङ्क्रमित तथा प्रभावित नागरिकका लागि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था र समन्वयदेखि घरघरमा अक्सिजन तथा औषधि पुर्‍याउने काममा उनी संलग्न भएका थिए । 

वडाध्यक्षबाट सुरु भएको थापा मगरको राजनीतिक यात्रा अहिले बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीसम्म आइपुगेको छ। स्थानीय तह, सामाजिक संस्था, प्रदेशसभा र प्रदेश सरकारका विभिन्न जिम्मेवारी सम्हाल्दै उहाँ प्रदेशको नेतृत्व गर्ने स्थानमा पुगेका हुन् । 

अबको चुनौती प्रदेश सञ्चालन
पार्टीभित्रको असन्तुष्टिलाई व्यवस्थापन गर्दै मुख्यमन्त्री बनेका थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थन रहेको दाबी गरिएको छ। मुख्यमन्त्रीका रूपमा उनका लागि आफूलाई समर्थन गर्ने दल तथा प्रदेशसभाका सबै पक्षलाई साथमा लिएर सरकार सञ्चालन गर्नु प्रमुख चुनौती हुनेछ।

त्यससँगै संघीयताको मर्मअनुसार प्रदेश सरकारलाई प्रभावकारी बनाउने, प्रदेशका जनताको अपेक्षा सम्बोधन गर्ने र प्रदेश सरकारप्रति बढ्दै गएको निराशालाई चिर्ने जिम्मेवारी पनि उनको काँधमा आएको छ।

वडाध्यक्षबाट सुरु भएको किरण थापा मगरको यात्रा अब बागमती प्रदेशको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेको छ। उनको राजनीतिक अनुभव, सामाजिक पृष्ठभूमि र संगठनात्मक क्षमताको वास्तविक परीक्षा भने मुख्यमन्त्रीका रूपमा आगामी कार्यसम्पादनबाट हुनेछ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update