Harsamaya
‘बागमती प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारी बोकेको छु’ : मुख्यमन्त्री किरण थापा
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर । 

हेटौँडा - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आफूले पदसँगै प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारीसमेत बोकेको बताएका छन् । 

पद तथा गोपनीयताको शपथ लिएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री थापा मगरले जनताको विश्वासलाई शक्ति र अपेक्षालाई मार्गदर्शन बनाएर सुशासनलाई व्यवहारमा, विकासलाई परिणाममा र सरकारलाई जनताको अनुभूतिमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए । 

बागमतीको समृद्धि भाषणको विषय नभई साझा कर्म र देखिने परिणामको यात्रा भएको बताउँदै उहाँले इमानदारी, पारदर्शिता, उत्तरदायित्व र दृढ इच्छाशक्तिका साथ काम गर्ने बताए । 

मुख्यमन्त्री थापा मगरले नागरिकका सुझावलाई सम्मान र खबरदारीलाई मार्गदर्शनका रूपमा लिएर सबैलाई साथमा लिएर समुन्नत, सुशासित, आत्मनिर्भर र गौरव गर्न लायक बागमती प्रदेश निर्माणमा अघि बढ्ने बताए । 

‘यो पद मेरो लागि सम्मानभन्दा बढी जिम्मेवारी हो, अधिकारभन्दा बढी कर्तव्य हो र अवसरभन्दा बढी जनसेवाको संकल्प हो,’ उनले भने । 

मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका हरेक नागरिकको सुख, सम्मान र समृद्धिलाई आफ्नो जिम्मेवारी ठान्दै विश्वासलाई परिणाममा, आशालाई उपलब्धिमा र संकल्पलाई समृद्धिमा बदल्ने प्रतिबद्धता व्यक्त गरे । 

 एमालेका थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update