Harsamaya
हवाई फायर गरी लागूऔषध कारोबारी पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बाँके - बाँकेमा प्रहरीले हवाई फायर गरी दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

लागूऔषध बिक्री वितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र सुदूरपश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलीले कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको थियो। पक्राउ परेकाहरूको साथबाट लागूऔषध अफिम १४ किलो ७६० ग्राम र दुई थान मोबाइल बरामद भएको छ।

पक्राउ पर्नेमा रुकुम (पूर्व) सिस्ने गाउँपालिका–२ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपी जङ्ग गिरी रहेका छन्।

उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update