काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ गोँगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्।
प्रहरीका अनुसार बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर र पाण्डेको साथबाट पनि ४ हजार ३०० अमेरिकी डलर बरामद भएको छ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए १५ बाट काठमाडौँबाट क्वालालम्पुर जान लागेका उनीहरूको अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्यान्डब्यागेज चेकिङका क्रममा शरीर खानतलासी गर्दा विदेशी मुद्रा फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद मुद्रासहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रहरीले जनाएको छ।

