Harsamaya
ललितपुरमा सुनका गहना चोरी आरोपमा एक जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

ललितपुर - ललितपुर महानगरपालिका–२८ हरिसिद्धीमा एक घरसहित पाँच ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन रहेका छन्। साउन २२ गते बिहान करिब ८ बजे हरिसिद्धीस्थित रिना महर्जनको घरकोठामा चोरी भएपछि प्रहरीले आसपासका सीसीटीभी फुटेजका आधारमा चोरको खोजी थालेको थियो।

खोजीका क्रममा प्रहरी वृत्त सातदोबाटोको टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा महर्जनलाई पक्राउ गरेको हो।

उनको साथमा रहेको ‘CAT’ लेखिएको कालो झोलाभित्र चोरी गरेर ल्याएको सुनचाँदीका गरगहना, पुराना तथा नयाँ सिक्का र नगद ११ हजार ३९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सामानमा सुनजस्तो देखिने धातुका नौगेडी, हार, झुम्का, औँठी, सिक्री, तिलहरी, चुरा/बाला तथा चाँदीजस्तो देखिने औँठी, हार, सिक्री, ब्रासलेट र पाउजुलगायतका गरगहना छन्। साथै ह्वाइट गोल्ड/डायमण्डजस्तो देखिने दुई थान औँठी, दुई वटा महिला झोला पनि बरामद गरिएको छ।

पक्राउ परेका महर्जनलाई चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update