Harsamaya
२ करोड ५१ लाखको अवैध सुनका गहनासहित महिला पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रुपन्देही - सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको २ करोड ५१ लाखभन्दा बढी मूल्यको सुनका गहनासहित एक महिलालाई रुपन्देहीबाट नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले असोज १४ गते राति सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सूचनाका आधारमा जाँच गर्दा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया महिलाको साथबाट सुनजस्तो देखिने विभिन्न गहना बरामद गरेको हो।

बरामद गहनाको तौल २ किलो ६०५ ग्राम रहेको थियो। असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा परीक्षण गराउँदा त्यसमा १ किलो शुद्ध सुन रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सुनको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ।

बरामद गहनामा हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाली, टप, नाकको फुली, ब्रासलेटलगायत विभिन्न प्रकारका गरगहना रहेका छन्।

नियन्त्रणमा लिइएकी महिलालाई बरामद सम्पूर्ण गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update