Harsamaya
उपभोक्ताले बढी सञ्चित गर्दा बजारमा ग्याँस अभावः सरकार
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्याँस अभावको समस्यामा प्रधानमन्त्री बालेन्द्र शाहले गम्भिर चासो व्यक्त गरेका छन् । 

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार मुख्य सचिव गोविन्दबहादुर कार्कीज्यूको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ ।  

विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीहरूको सहभागिता रहेको छलफलमा ग्यास अभाव हुनुको कारण र तत्काल समाधानका उपायबारे वृहत् विमर्श गरेको थियो ।

छलफलका क्रममा व्यावसायीहरूले बजारमा ग्याँसको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भए पछि उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्दा माग एक्कासि बढेको जानकारी गराए । यस समस्यालाई सम्बोधन गर्न र आगामी चाडपर्वमा आपूर्ति सहज बनाउन ग्याँस आयात बढाउने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निकायहरूबीच समन्वय गर्ने निर्णय भएको छ। 

मुख्य सचिव कार्कीले यस समस्याको दीर्घकालीन समाधान खोज्न सरोकारवालाहरूसँग आगामी दिनमा पनि निरन्तर छलफल जारी राख्ने प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update