Harsamaya
एमालेभित्रको विवादले कोशीमा सरकार गठन रोकियो, मुख्यमन्त्रीमा कार्की कि नयाँ अनुहार?
मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

विराटनगर - नेकपा एमाले र नेकपाबीच कोशी प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भए पनि मुख्यमन्त्रीको टुंगो लाग्न नसक्दा नयाँ सरकार गठन प्रक्रिया लम्बिएको छ। मुख्यमन्त्रीका रूपमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने वा नयाँ अनुहार अघि सार्ने भन्ने विषयमा एमालेभित्रै मतभेद देखिएको छ।

सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने तय भएको छ। तर नेतृत्वको विषयमा पार्टीभित्र एकमत हुन नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन।

यसैबीच, नेकपा एमाले कोशी प्रदेश समितिले नेतृत्वबारे देखिएको विवाद समाधान गर्न प्रदेश सांसदहरूसँग छलफल सुरु गरेको छ। एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार नेतृत्वको विषयमा देखिएको विवाद एकदेखि डेढ साताभित्र समाधान हुने दाबी गर्नुभयो। उहाँले पार्टी र संसदीय दलभित्र आवश्यक छलफल भइरहेको जानकारी दिए । 

उता, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नै मुख्यमन्त्रीको एकमात्र विकल्प नभए पनि अहिलेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी आफूले निर्वाह गर्ने बताए । उनले वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम गठन भएको भएकाले त्यसको संवैधानिक अवस्थालाई पनि ध्यानमा राख्नुपर्ने धारणा व्यक्त गरे । 

एमाले प्रदेश संसदीय दलको छलफलमा २९ जना प्रदेश सांसद सहभागी भएको प्रदेश सांसद पाँचकर्ण राईले जानकारी दिनुभयो। कोशी प्रदेश सभामा एमालेका उपसभामुखसहित ४० जना प्रदेश सांसद रहेका छन्।

एमालेभित्र नेतृत्वको विवाद समाधान भएपछि मात्रै कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने देखिएको छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update