काठमाडौं - अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले पु¥याएको अकल्पनीय जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गहिरो दुःख व्यक्त गर्दछ ।
यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
विपद् जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको पूर्वतयारी तथा हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बद्ध निकायहरूबाट अहोरात्र खटिएर भइरहेको उद्धार कार्यप्रति आभार व्यक्त गर्दछौं । राज्यको भरमग्दुर प्रयासका बाबजुद पनि विपद्को स्वरूपका कारण अमूल्य मानवीय क्षति हुन पुग्नु अत्यन्तै पीडादायक छ ।
मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा टरिसकेको छैन। तसर्थ, नदी तटीय क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानमा रहनुहुने तथा अत्यावश्यक कामबाहेक यात्रामा निस्कनुहुने सम्पूर्ण आम नागरिकहरूलाई उच्च सतर्कता र विशेष सावधानी अपनाउन हामी हार्दिक अपिल गर्दछौं ।
यस विषम परिस्थितिमा सरकारले गरिरहेको हालको प्रयासलाई थप गति प्रदान गर्दै प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकहरूको खोजी र घाइतेको उपचारलाई अझै युद्धस्तरमा अगाडि बढाउन हामी नेपाल सरकारसँग आग्रह गर्दछौं ।
विपद्पछिको अवस्थामा अवरुद्ध राजमार्गहरू तत्काल सुचारु गर्न र घरबारविहीन भएका नागरिकहरूको सुरक्षित आवास तथा पुनस्र्थापनाको कार्यमा कुनै पनि किसिमको ढिलासुस्ती नगर्न तीनवटै तहका सरकारहरूको ध्यानाकर्षण पनि गराउँदछौं ।
विपद्को यस संवेदनशील घडीमा सम्बन्धित निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा आमनागरिकको सेवामा निस्वार्थ भावले समर्पित हुन रास्वपाका सम्बन्धित क्षेत्रका सम्पूर्ण तहका नेता, सदस्य, शुभचिन्तक, ¥यापिड एक्सन टिमलगायत सम्पूर्ण सर्वसाधारणलाई आह्वान गर्दछौं ।

