Harsamaya
तीन किलो अफिमसहित दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि हवाई फायर
आठविसकोट नगरपालिका–३, स्यालाखदीका २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–२, स्यालाका २० वर्षीय गणेश वली ।

रुकुम पश्चिम - रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, छोटेबगरबाट प्रहरीले करिब तीन किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउका क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको जनाएको छ।

प्रहरीका अनुसार आठविसकोट नगरपालिका–३, स्यालाखदीका २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–२, स्यालाका २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी जाँच गर्न खोजिएको थियो।

चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका थिए।

नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update