दाङ - दाङमा ३५ केजी लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको टोलीले गढवा गाउँपालिका–१ जुरौनीस्थित पूर्व–पश्चिम राजमार्गमा बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको ईभी हाइसमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा चरेस बरामद गरेको हो।
प्रहरीका अनुसार हाइसको पछाडिको सिटमा रहेका दुई वटा कालो झोला र एउटा निलो रङको सुटकेस जाँच गर्दा ३५ केजी चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको थियो।
चेकजाँचका क्रममा सोही सिटमा रहेका नाम, थर र ठेगाना नखुलेका करिब २५ वर्षीय एक पुरुष फरार भएका थिए। त्यसपछि बरामद झोला र सुटकेस आफ्नो भएको स्वीकार गरेका र भाडा तिरेर यात्रा गरिरहेका रुकुम पूर्वको भूमे गाउँपालिका–२ निवासी करिब २६ वर्षीय हिक्मत पुनलाई प्रहरीले पक्राउ गरेको हो।
बरामद गरिएको चरेससहित पुनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

