Harsamaya
जबरजस्ती करणीका फरार अभियुक्त डिपोर्टमार्फत नेपाल ल्याइए
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाडनातामा जबरजस्ती करणी मुद्दामा फरार रहेका तथा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

नेपाल प्रहरीका अनुसार भोजपुरका ३२ वर्षीय जनक राई मुद्दा दर्तापछि फरार भई कतार पुगेका थिए। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा सन् २०२५ अप्रिल १ (२०८१ चैत १९) मा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो।

त्यसपछि एनसीबी काठमाडौं र एनसीबी दोहा (कतार) बीचको निरन्तर समन्वयमा राईलाई कतारमा पक्राउ गरिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई डिपोर्टमार्फत नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

मंगलबार एनसीबी काठमाडौं (इन्टरपोल शाखा) बाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई नियन्त्रणमा लिएको हो।

हाल राईलाई प्रहरी वृत्त गौशालामा राखिएको छ। थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीलाई बुझाउने प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update