काठमाडौं - काठमाडौं उपत्यकामा लागुऔषध कारोबारमा संलग्न गिरोहमाथि निगरानी गर्ने क्रममा प्रहरीले १३६ ग्राम खैरो हेरोइन र एक लाखभन्दा बढी प्रतिबन्धित लागुऔषध क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले असार ३१ र ३२ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
खैरो हेरोइन प्रकरणमा काठमाडौं महानगरपालिका–४ का ४५ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका छन्। उनको साथबाट १३६ ग्राम खैरो हेरोइन, एक लाख रुपैयाँ नगद र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, प्रतिबन्धित लागुऔषध प्रकरणमा बझाङको खप्तडछान्ना गाउँपालिका–१ का ३५ वर्षीय सागर जेठारा पक्राउ परेका छन्। उनको साथबाट ट्रामाडोल २,४९० क्याप्सुल, टापेन्टाडोल ७,०६२ क्याप्सुल, नाइट्राजेपाम १,०८८ ट्याब्लेट र प्रेगाबालिन ९०,००० क्याप्सुल तथा एक थान मोबाइल बरामद भएको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

