Harsamaya
मिडिया हाउस अगाडिका गाडीबारे रास्वपाको प्रश्न : प्रेसमाथि त्रास फैलाउने को ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।

काठमाडौं - विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरेर अवरोध सिर्जना गरिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर आपत्ति जनाएको छ। पार्टीले यसलाई प्रेस स्वतन्त्रतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भन्दै तत्काल निष्पक्ष छानबिनको माग गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरिएको छ। प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने अधिकार र स्वतन्त्र पत्रकारिताप्रति रास्वपा दृढ रहेको पनि विज्ञप्तिमा भनिएको छ।

रास्वपाले सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने, सूचना तथा सञ्चार स्वतन्त्रता कुण्ठित गर्ने र चौथो अंगलाई दबाबमा पार्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको स्पष्ट पारेको छ।

पार्टीले घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीको पहिचान गर्न, कानुनबमोजिम कारबाही गर्न तथा सञ्चारगृह र सञ्चारकर्मीको भौतिक एवं मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग माग गरेको छ।

साथै, रास्वपाले सञ्चारकर्मीलाई कुनै दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता जारी राख्न आग्रह गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता दोहोर्‍याएको छ।

Raswapa-1783942400.jpg
 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update