Harsamaya
भारतीय नम्बर प्लेटको कारबाट १८ सय एम्पुल लागुऔषध बरामद, पाँच भारतीय नागरिक पक्राउ
भारतीय नम्बर प्लेटको कारमा लुकाएर ल्याइएको ठूलो परिमाणको लागुऔषध ।

पोखरा - भारतीय नम्बर प्लेटको कारमा लुकाएर ल्याइएको ठूलो परिमाणको लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय डाँडाको नाकाको सहयोगमा आइतबार कास्कीको पोखरा महानगरपालिका–३२, मटुवा क्षेत्रमा कारबाही गर्दै भारतीय नम्बर प्लेट यूपी ५३ वाई ७७०४ को कारबाट प्रतिबन्धित लागुऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार कारबाट बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनका १ हजार ८ सय एम्पुल तथा ट्रामाडोलका ५१० क्याप्सुल बरामद गरिएको छ।

घटनामा भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय बजाली पासवान, ३३ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय प्रीतम कुमार तथा २५ वर्षीय अभिषेक कुमार पासवान पक्राउ परेका छन्।

प्रहरीले लागुऔषधसहित प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कार र पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update