Harsamaya
‘डिएसपी चौधरीलाई कारबाही भएको होइन, सामान्य सोधपुछ मात्र’
प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरी ।

काठमाडौं - नेपाल प्रहरीले कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई कारबाही गरेर जिल्ला तानिएको भन्ने समाचारको खण्डन गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले डिएसपी चौधरीमाथि कुनै कारबाही नभएको, निलम्बनसमेत नगरिएको स्पष्ट पार्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएको समाचार भ्रामक रहेको बताएका छन्।

उनका अनुसार डिएसपी चौधरीले हालै सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे चेन अफ कमान्डअनुसार सम्बन्धित प्रदेशमार्फत सामान्य जानकारी मात्र मागिएको हो। यसलाई अनुशासनात्मक कारबाहीका रूपमा बुझ्न नहुने प्रहरीको भनाइ छ।

प्रवक्ता काफ्लेले नेपाल प्रहरी कानुन र संगठनात्मक अनुशासनअनुसार सञ्चालन हुने संस्था भएकाले सार्वजनिक कार्यक्रममा बोल्दा प्रहरी अधिकृतहरूले पदको मर्यादा, व्यावसायिक आचरण र कानुनी सीमाको ख्याल गर्नुपर्ने बताए।

उनले विशेषगरी कुनै व्यक्ति वा विषयलाई लिएर सार्वजनिक अभिव्यक्ति दिँदा थप जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै, डिएसपी चौधरीले कुन सन्दर्भमा के बोलेका हुन् भन्ने विषयमा प्रशासनिक रूपमा बुझ्न खोजिएको मात्र स्पष्ट पारे।

प्रहरी मुख्यालयले डिएसपी चौधरीविरुद्ध कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि नबढाइएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update