काठमाडौं - लागूऔषध नियन्त्रण ब्युरोको टोलीले मोरङको विराटनगरबाट २८९ ग्राम ९७० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा असार १४ गते विराटनगर महानगरपालिका–१५ रानी क्षेत्रमा भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्ला, गंगारामपुर थाना निवासी ३२ वर्षीय चञ्चल सिकदरलाई २८९ ग्राम ९७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध रिसिभ गर्न काठमाडौंबाट सुनसरी पुगेका जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका–८ निवासी २५ वर्षीय तेज रावललाई पनि सुनसरीको कोशी गाउँपालिका–८ हर्टाबारीबाट बा.प्र.०२–०२४ प ०२७७ नम्बरको मोटरसाइकल र नगद रु. २ लाख ७६ हजार सहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय रानी, विराटनगरबाट लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

