वीरगञ्ज - पर्साको वीरगञ्ज महानगरपालिका–१०, बजरंग टोलस्थित भित्री सडकमा मिनी ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, हरैया वडा नं. १, भलुवाहा टोल निवासी अन्दाजी ४५ वर्षीय खेखन पण्डित रहेका छन् ।
आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क ३५३७ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका पण्डितलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका पण्डितलाई उपचारका लागि नारायणी अस्पताल, पर्सा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले मिनी ट्रक चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–४, चैनपुर निवासी अन्दाजी ३६ वर्षीय टुना देवानलाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा स्थानीयले कुटपिट गर्दा चालक देवानको टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

