पर्सा – वीरगञ्जबाट काठमाडौंतर्फ ल्याइँदै गरिएको मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ करिब ७ बजे राजस्व छलीको आशंकामा बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो। उक्त ट्रकलाई आवश्यक जाँच तथा अनुसन्धानका लागि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।
ट्रकको खानतलासी गर्ने क्रममा एक लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको हो। बरामद गरिएको ट्रामाडोल नेपालमा चिकित्सकीय प्रयोगबाहेक बिक्री–वितरण र ओसारपसारमा कडाइ गरिएको औषधि हो।
प्रहरीले उक्त औषधि कहाँबाट ल्याइयो, कसका लागि पठाइएको थियो र यसमा संलग्न व्यक्ति वा समूह को–को हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

