दुई किलो अफिमसहित तीन जना पक्राउ
बर्दिया - बर्दियाको गुलरिया नगरपालिका–८ बाट अफिम कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट १ किलो ९२६ ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–४ निवासी ४६ वर्षीय यनबहादुर रावत, सोही ठाउँका ४२ वर्षीय लोकेन्द्रबहादुर रोकाय र रोल्पाको गंगादेवी गाउँपालिका–६ निवासी ४८ वर्षीय केश सिंह केसी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले शंकास्पद गतिविधिका आधारमा उनीहरूको खानतलासी गर्दा अफिम बरामद गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरिरहेको भे ९ प ६२९६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३ ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

