वीरगन्ज - वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार मेयर सिंह पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएपछि सिंह एक दिन अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेको र विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको दाबी गरिएको छ।
गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरको मुद्दामा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा अदालतले उक्त आदेश दिएको जनाइएको छ।
पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

