Harsamaya
होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बारा - बाराको जितपुर सिमरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले एक जना युवकसहित ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा असोज ३ गते साँझ करिब ५ः३० बजे सोही ठाउँका ३५ वर्षीय शेरबहादुर खड्कामाथि जितपुर सिमरा–१६ का २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट घाँटीमा चोट लागेका खड्कालाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारका क्रममा साँझ ६ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार भएका राईलाई प्रहरीले राति करिब १० बजे जितपुर सिमरा–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको थियो।

घटनासँग सम्बन्धित आरोपमा प्रहरीले पर्साको ठोरी गाउँपालिका–१ घर भई जितपुर सिमरा–२ बस्ने ३४ वर्षीया बिन्दु तामाङ, सोही ठाउँका ३० वर्षीय रामबहादुर तिमिल्सिना र २३ वर्षीय रत्न पाख्रिन तामाङ तथा जितपुर सिमरा–१६ का ४३ वर्षीया शान्ति राई र ४० वर्षीया सिता थापा मगरलाई समेत पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update