काठमाडौं - खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का दुई पदाधिकारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ पुल्चोकका ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५ लगनखेलका ५५ वर्षीय सञ्जीव पाण्डे रहेका छन् ।
जोशी एन्फा सातदोबाटोका कोषाध्यक्ष र पाण्डे लेखा अधिकृत पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्, प्रधानमन्त्री कार्यालय, त्रिपुरेश्वर तथा बसन्त रिजालले दिएको निवेदनका आधारमा उनीहरूमाथि खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला ललितपुर अदालतबाट २०८३ असोज ४ गते पहिलो पटक चार दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

