Harsamaya
धरौटीमा छुटाइदिने प्रलोभनमा ४ लाख ७९ हजार लिएको आरोपमा दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लागूऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिएर रकम लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला अदालत काठमाडौंको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले असोज २ गते साँझ काठमाडौं जिल्ला अदालत परिसरबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय हरिराम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ घर भई तारकेश्वर–८ बस्ने ३१ वर्षीय अजय थापा मगर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले लागूऔषध मुद्दाका प्रतिवादीकी पत्नीलाई धरौटीमा छुटाइदिने आश्वासन दिई अवैध रूपमा ४ लाख ७९ हजार रुपैयाँ लिएको पाइएको छ।

उनीहरूको साथबाट ३ थान मोबाइल र प्रतिवादीकी श्रीमतीको नाममा रहेको माछापुच्छ्रे बैंकका ७ थान खाली चेकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update