Harsamaya
पाँच किलो अफिमसहित पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

नेपालगञ्ज - सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र चरेस बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।  

उनका अनुसार करिब ५.५ (साढे पाँच) किलोग्राम अफिमजस्तो देखिने पदार्थ र पाँच ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो ।

बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल ३० नं गण बागेश्वरीको विशेष निगरानीमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक चन्दको भनाइ छ ।  

सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको थियो ।

सो लागूऔषधसहित पक्राउ परेका एक जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने छ । 

सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल  ३०  नं गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ ।

पछिल्ला दिनमा चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएका उपलब्धिले सङ्गठनको प्रतिबद्धता र कार्यकुशलता पुष्टि गरेको उनको विश्वास छ ।

बरामद गरिएको अफिम र चरेस सहितको व्यक्तिको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update