Harsamaya
हुम्लाको नेप्का गाउँमा पहिरो: विद्यालय, खेतीयोग्य जमिन र गोठ बगायो
हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा पहिरो ।

हुम्ला - हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५  डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ ।

एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्‍याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । 

चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । 

उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् ।

गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ  ।
 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update