Harsamaya
ट्रम्पले भनेः इरानले परमाणु कार्यक्रम २० वर्ष रोके स्वीकार्य 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- इरानको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ धारणा आएको छ । उनले इरानले आफ्नो परमाणु कार्यक्रम २० वर्षका लागि निलम्बन गरेमा आफूलाई स्वीकार्य हुने बताएका छन् । 

यसलाई इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्नुपर्ने आफ्नो पुरानो अडानबाट ट्रम्प केही पछि हटेको पहिलो स्पष्ट संकेतका रूपमा हेरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा वार्ता गरेपछि राष्ट्रपति विमान एयर फोर्स वानमा पत्रकारहरूसँग ट्रम्पले दुवै पक्ष इरानलाई आणविक हतियार राख्न दिनु हुँदैन र उसले अवरुद्ध गरेको होर्मुज जलमार्ग पुनः खोल्नुपर्छ भन्ने कुरामा सहमत भएको बताएका थिए ।

पत्रकारले इरानको परमाणु कार्यक्रम २० वर्षका लागि मात्र निलम्बन गर्नु पर्याप्त नहुने सुझाव दिएपछि त्यसको जवाफमा ट्रम्पले भने,‘२० वर्ष पर्याप्त छ, तर उनीहरूका तर्फबाट दिइने ग्यारेन्टीको स्तर बलियो हुनुपर्छ । अर्को शब्दमा भन्नुपर्दा, त्यो वास्तविक २० वर्ष हुनुपर्छ ।’

यसबारे उनले थप विस्तृत विवरण भने दिएका छैनन् । ट्रम्पले उक्त अवधि वास्तविक २० वर्ष हुनुपर्नेमा जोड दिए पनि यसअघि उनले इरानलाई हतियार निर्माणका लागि आवश्यक ‘युरेनियम प्रवर्द्धन’ स्थायी रूपमा बन्द गर्न तथा उसलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नदिने वातावरण बनाउनुपर्ने बताउँदै आएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update