Harsamaya
चीन पुगे राष्ट्रपति ट्रम्पः इरान युद्ध र ताइवान मामिला छलफल गर्ने 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङ पुगेका छन् । उनी एयरफोर्स वनबाट बेइजिङमा ओर्लिएको बीबीसीले जनाएको छ । दुई दिने भ्रमणका लागि उनी चीन पुगेका हुन् । समकक्षी सी चिनफिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि उनी बेइजिङ पुगेका हुन् ।

ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले भव्य स्वागत गरेका छन् । यसअघि ट्रम्पलाई चीनले हानभन्दा तल्लो वरीयताका नेताबाट स्वागत गरेको थियो । यसपटकको उनको स्वागत उच्च तहको नेताबाट हुनुलाई ट्रम्पले विशेष महत्त्व दिएको रूपमा बुझिएको बीबीसीले उल्लेख गरेको छ ।

दुईदिने भ्रमणमा उनले भन्सार शुल्क, प्रविधि, इरान युद्ध तथा ताइवान मामिलाबारे छलफल गर्ने बताएको छ । मध्यपूर्वमा अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानका कारण आलोचना र विवाद बढिरहेका बेला उनी चीन पुगेका हुन् । यो भ्रमण मार्चमा तय भएको थियो । इरान युद्धका कारण उक्त भ्रमण धकेलिएको थियो ।

ट्रम्प छोरा इरिक, व्यापारी एलन मस्क, टीम कुक, ल्यारी फिंक, केली अटवर्गसहित चीन पुगेका हुन् । बेइजिङ उड्नुअघि ट्रम्पले ट्रुथमा असाधारण क्षमताका नेताका रूपमा सीको प्रशंसा गरेका थिए । ''क्षमतावान् सीको नेतृत्वमा जनवादी गणतन्त्र चीन अझै उच्च तहमा पुगोस् मेरो चाहाना छ,'' उनले ट्रुथमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update